Suna Mero Katha: Recent Episodes

Bikkil Sthapit

Suna Mero Katha सुन मेरो कथा is an oral history project from Nepal, archiving stories.

View Details

“तिम्रो छोरीलाई रेप गरेर मारिसके सेनाले । तिम्रो छोरी जिवित छैन अब । तिमीले छोरी खोजेर नहिँड, दुःख नगर ।”, जिल्लाको सिडिओ जस्तो मान्छेले नै यस्तो भनेपछि देवी सुनुवारलाई गाउँमा बसिसक्नु भएन । सेनाबाट झन धेरै खतरा महशुस गरिन थालियो । तर छोरीको लाश अथवा शास खोज्ने नै देवी सुनुवारले अन्तिम उद्देश्य बनायो ।

सेनाका प्रमुख प्यार जङ्ग थापालाई हात मिलाएर मेरो परिचय दिएँ । मैना सुनुवारको आमा भन्ने थाहा भएपछि मेरो हात चट्ट छोडिदियो ।

यो उनै मैनाको खोजीमा निस्केकी आमा देवी सुनुवारको कथाको अन्तिम भाग हो ।

View Details

२०६० साल फागुन १ गते मध्यरातमा गाउँ छिरेको शाही नेपाली सेनाले देवी सुनुवारकी भदई रिना रसाईलीको निर्ममतापूर्वक हत्या गर्यो । घटनाको सर्वत्र खुलासा गर्न र सूचना फैलाउन निडर भएर अघि बढ्दै गरेका देवीलाई रोक्न सेना उनको घर गए । घरमा देवी नभेटिएपछि छोरी मैना सुनुवारलाई कब्जामा लियो ।

मेरो श्रीमानलाई, “तेरो श्रीमतीलाई लिएर पाँचखाल ब्यारेक आइज । अनि तेरो छोरीलाई हामी छोडिदिउँला । अहिले चाहिं तेरो छोरी लिएर हामी जान्छौं”, भनेर सेनाले मैनालाई लगे ।

छोरी मैना सुनुवारलाई खोज्न सबै तिर धाईन् । सबैलाई हारगुहार गरिन् । “सेनाका हातमा पुगेको महिला : तिम्रो छोरीलाई रेप गरेर मारिसके सेनाले । तिम्रो छोरी जिवित छैन अब । तिमीले छोरी खोजेर नहिँड, दुःख नगर ।”, जिल्लाको सिडिओ जस्तो मान्छेले नै यस्तो भनेपछि देवी सुनुवारलाई गाउँमा बसिसक्नु भएन । मैनाको खोजीका लागि बाँकी संघर्ष थाल्न र भएका दुई छोरा र श्रीमानको सुरक्षाका लागि भएपनि गाउँ छोड्न देवी बाध्य भईन् ।

यो कथा मैनाको खोजीमा निस्केकी आमा देवी सुनुवारको हो ।

View Details

२०६० साल फाल्गुन १ गते काभ्रेको पोखरीचौरीमा आँखा शिविर चलेको थियो । आमाको आँखा उपचार गर्न देवी सुनुवार पनि गाउँ पुगेकी थिइन् । संयोगवस सोहि दिन राज्य विरुद्ध भूमिगत युद्ध थालेको माओवादीले भव्यताका साथ गाउँमा जनयुद्ध दिवस पनि मनाएको थियो । दिन कट्यो । तर मध्यरातमा भएको घटनाले भने देवी सुनुवारको परिवारमा नमेटिने घाउ छोडेर गयो ।

नेपाल सेना भनेको राज्यको अंग हो । नेपाल सेनाले मान्छे मार्दैन भन्ने नै सोचेको थिएँ । तर सुराकीको सहायतामा गाउँ पसेको सेनाले सोहि रात रिना रसाईली, सुभद्रा चौलागाईं र टसी लामाको हत्या गर्यो ।

मध्यरातमा आएको शाही नेपाली सेनाको टोलीले देवीकी भदइ रिना रसाईलीको बलात्कार र हत्या गर्यो । गाउँलेहरु त चुपो लागेर बस्ने मनस्थितिमा थिए । तर देवीले यो घटनाको खुलेर सामना गरे र सार्वजनिक गरे । सर्वत्र सूचना फैलाउन निडर भएर अघि बढ्दै गरेका देवीलाई रोक्न सेनाले देवीकी छोरीलाई समेत बन्धक बनाए । बन्धक बनाइएकी मैना सुनुवारलाई त्यसपछि उनकी आमाले कहिल्यै देख्न पाएनन् ।

View Details

मध्यम वर्गीय किसान परिवारमा जन्मेका महेश्वर महर्जनको शारिरीक बनावट पातलो थियो । ज्यान पातलो भएकै कारण विद्यालयमा साथीहरुले पनि जिस्क्याउने गरेको कुरा उनलाई अझै याद छ । २० वर्ष पछि उनै साथीहरु अहिले महेशको शरिर हेरेर तारिफ गर्छन् । छक्क पर्छन् ।

धेरै पैसा भएका मान्छेहरुले यो खेलमा लाग्दै लाग्दैन । हुँदै नभएकाहरुले पनि लाग्न सक्दैन । आफू परियो ‘मिडल क्लास’ ।

परिवारको कमजोर आर्थिक स्थिति, नकारात्मक सामाजिक बुझाई र आमाको दवाबका कारण महेश्वरलाई शारिरीक सुगठनमा लाग्न धेरै गाह्रो थियो । तर उनको यस रुची प्रतिको निरन्तरताका कारण नै गत वर्ष भूटानमा भएको ५०औं एशियाली शारिरीक सुगठन प्रतियोगीताको स्वर्ण पदक सम्म जित्न उनी सफल भएका छन् ।

आफ्नो रुचीलाई सपनामा ढाल्न सफल महेश्वर महर्जनको संघर्षशील कथा हो यो ।

View Details

अरु सबै बिद्यार्थीहरु विद्यालयको पोशाकमा हुन्थे भने श्रेरणाको पहिरन सँधै रातो हुन्थ्यो । खाना खाने बेला पनि सबै भन्दा पहिले खाना उनैलाई पस्किन्थ्यो । चाडपर्वहरुमा अरु हिँड्थे भने उनलाई बोकिन्थ्यो । उनको श्रृंगार फरक थियो । उनको लवाईखवाई फरक थियो अनि नीति नियमहरु फरक थिए । किनकी, बज्राचार्य परिवारमा जन्मेकी श्रेरणालाई जीवित देवी कुमारीको अवतारका रुपमा पुजिन्थ्यो ।

काठमाडौंको ठमेल स्थित भगवान बहालमा आयोजित कुमारी छनोट प्रकृयामा सरिक हुँदा श्रेरणा तीन वर्षकी थिइन् । १५–२० जना सोहि उमेरका बालिकाहरुले भाग लिएको उक्त प्रकृयामा संयोगवश श्रेरणाको नाम छानियो । त्यस वर्ष देखि अर्को ८ वर्ष सम्म उनी कुमारीको भुमिकामा देखिइन् ।

मैले जोसँग बिहे गरेँ उसको दुई वर्ष दुई महिना पछि मृत्यु हुन्छ भनी मेरो चिनामा लेखिएको थियो ।

कुमारीले गर्न हुने–नहुने नियमहरु कठिन हुन्छन् । कुमारीको कार्यकालमा मात्र नभई त्यसपश्चात पनि गर्न हुने–नहुने नियमहरु कडा नै हुन्छन् । श्रेरणाले यी सबै नीतिनियमहरुको हुवहु पालना गरे वा गरेनन् त्यो अर्कै पाटो भयो तर उनले सदैव आफ्नो मनको कुरा सुनिन् र अघि बढिन् ।

यो कथा उनै साहसी कुमारी श्रेरणा बज्राचार्यको हो ।

View Details

गीता सानै थिइन् जुनबेला नेपालमा जनयुद्ध सुरु भयो । राजधानीबाट नजिकै भएता पनि काभ्रेको दुर्गम क्षेत्रमा पर्ने उनको गाउँमा जनयुद्ध सुरु हुनुभन्दा धेरै अगाडि देखि नै आन्दोलनको लहर उर्लंदो थियो । एउटा बिकट गाउँको दलित परिवारमा जन्मेर, दलित समुदायमा हुर्केकी गीतामा पनि माओवादीको प्रभाव पर्न त्यति समय लागेन । मुख्यतः परिवारमा दाईहरु माओवादी आन्दोलनमा लागेका र बुबा पनि आन्दोलन प्रति सकारात्मक भएका कारण गीतालाई माओवादी बन्न सहज भयो ।

आफ्नै परिवारमा माओवादी सदस्यहरु भएता पनि गीताकी दिदी रिना रसाईली भने माओवादी आन्दोलनबाट टाढै थिइन् । उनी गाउँमा शिक्षिका भई समाजसेवा गर्थिन् । तर २०६० साल फागुन १ गते शाही नेपाली सेनाले रिनालाई माओवादी भएको आरोपमा मध्यरात घरबाट लगेर सामुहिक बलात्कार र यातनापछि निर्ममतापूर्वक हत्या गर्यो ।

“तैंले गरेर तेरो दिदी खाईस् । तँ माओवादी आन्दोलनमा नहिँडेको भए यस्तो हुँदैनथ्यो”, भने । मैले केहि पनि भनिँन । म चुपो लागेर बसेँ ।

हत्या भएको १३ वर्ष भयो तर पनि राज्यले पीडितको पक्षमा न्याय दिन आलटाल गर्दै आइरहेको छ । यो कथा रसाईली परिवारको हो र साथै हजारौं अरु द्वन्द्वपीडित परिवारहरुको पनि जो न्यायबाट बञ्चित छन् ।

View Details

खेलकुदमा अब्बल खेलाडी थिए खुमा । भलिबल, दौडमा त उनी राष्ट्रिय स्तरका खेलाडी नै थिए । पढाईमा पनि उत्तिकै तेजिला खुमालाई विद्यालयका शिक्षकहरुले राजनैतिक रुपमा अघि सार्न हौसाएको उहाँको थम्याई छ ।

कम्युनिष्टहरुको गढ नै बनेको रोल्पामा हुर्केका खुमा सुवेदी, २०४६ सालको आन्दोलनपछि भने विभेदकारी समाज विरुद्ध सशक्त भएर लाग्नु भयो । २०५० साल तिर बुर्जुवा डिग्री बहिष्कार गर्दै शैक्षिक प्रमाण–पत्रहरु च्यातेर आन्दोलनमा होम्मिएका उनी सहभागी पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गर्यो । त्यो बेला उनी महिला मोर्चा सम्हाल्दै जाजरकोटका गाउँहरुमा खटिएका थिए ।

मेरो श्रीमानले उठाएको बन्दुक र विचार अहिले पनि मैले भुलेको छैन । र त्यहि विचार र बन्दुक बोक्न म तत्पर छु ।

जनयुद्धका क्रममा हजारौंले सहादत प्राप्त गरे । त्यस मध्ये एक उनका पति नन्द न्यौपाने पनि हुन । शहिद परिवार भएरै जनयुद्ध पश्चातका समयहरुमा पनि अनवरत आन्दोलनमा लागी परेका खुमा सुवेदीको कथा हो यो ।

View Details

विभिन्न कालखण्डमा भएका हरेक चुनावलाई उपयोग गर्ने नीति बनाएका थिए रुपचन्द्र विष्टले । चुनावमा जाने र जनतालाई राजनैतिक रुपमा शिक्षित बनाउने नै उनको मुख्य उद्देश्य रह्यो । २०४६ को जनआन्दोलन ताका देश बहुदल र निर्दलमा विभाजन भई रहँदा भने उनको राजनीति फरक धारको थियो ।

“व्यवस्था निर्दलीय, राजनीति बहुदलीय । मान्नु हुन्छ ?” भनी बहुदल धारका नेता गणेशमान सिंहलाई सोध्नु भयो । यहि कुरा निर्दल धारका नेता मरिचमान सिंह श्रेष्ठलाई पनि सोध्नु भएको थियो । सायद उहाँहरुले बुझ्नु भयो वा बुझ्नु भएन ।

लुट्न आको, लुट्न पाको सन्तुष्ट भाको लुट्न आको, लुट्न नपाको असन्तुष्ट भाको

चुनावमा जित हारसँग रुदानेको मतलब थिएन । जनमुखी राजनीतिलाई देशव्यापी रुपमा लैजानेमा नै उनको ध्यान थियो । तर पटक पटकको हार पछि भने उनमा निराशा छायो । क्रमिक रुपमा उनी बिरामी पर्नु भयो ।

जनता जगाउन यी एकल सेनानीले चालेका पाइला प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ ।

यो कथा जननेता तथा दार्शनिक रुपचन्द्र विष्टको हो ।

View Details

रुपचन्द्र विष्टले अघि सारेको राजनीति निर्दलीय पञ्चायत र बहुदलीय प्रजातन्त्र भन्दा पनि फरक र प्रगतिशील थियो । उनको राजनीति जनमुखी थियो । २०३८ सालमा घोषणा पत्रमा उल्लेख गरेरै सत्य र ठिकले बनेको थाहा दर्शन अनि ईमान, बिबेक र प्रेमले बनेको जनमुखी राजनीतिलाई जनताको घरघर पुर्याउने अभियानमा लागे । सबै अधिकार जनताको अधिनमा हुनुपर्ने उनको विचारलाई जनताले मन पराए तर पञ्चायती मण्डले र बहुदलीय पक्षधरहरुले भने उनको यो जनवादी विचारलाई बिथोल्न लागी परे ।

चार मानो माटोसँग तेरो नाता पर्यो भनेर माटोको भाँडाले तँ सँग दोस्ती सोस्ती गर्यो भनेर बसिस् कैद गमलामा सिङ्गै पृथ्वीलाई छोडेर – रुपचन्द्र विष्ट

जनता जगाउन यी एकल सेनानीले चालेका पाइला प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ ।

यो कथा जननेता तथा दार्शनिक रुपचन्द्र विष्टको हो ।

View Details

सम्भवतः रुपचन्द्र विष्टले नगरेको श्रम केही बाँकी थिएन । श्रमको गाथा बुझेका रुदाने कुनै समय गाडी चालक थिए, त्यो भन्दा अगाडी खलासीको काम गर्थे । हलो जोत्दा राम्रो हलीको भूमिका निर्वाह गर्दथे भने कोदाली चलाउँदा राम्रो कोदाली चलाउन जान्थे । हरेक श्रमलाई उनी मन लगाएर अभ्यास गर्दथे ।

जनता शिक्षित बनाएरै मात्र परिवर्तन सम्भव देखेका रुदानेले पालुङ्ग, मकवानपुरका जनता शिक्षित बनाउन अथक प्रयास गरे । अनेकौं समस्याहरुसँग जुध्दै व्यवहारिक र वैज्ञानिक शिक्षा प्रणालीका लागि अग्रसर रुदानेलाई रोक्न गाउँका जालिफटाहा र तत्कालीन सरकार मिले र उनले सुरु गरेको शैक्षिक आन्दोलन बिथोलियो ।

“केटाकेटी पढाउने बाबुआमा जिन्दावाद ! नपढाउने मुर्दावाद !” – रुपचन्द्र विष्ट

अत्यन्तै उर्जाशील प्रगतिशील व्यक्तित्वका धनी रुदानेले शिक्षा क्षेत्रमा गरेका योग्दान प्रेरणादायक छन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ ।

यो कथा रुपचन्द्र विष्टको हो ।

View Details

रुपचन्द्र विष्ट बहु–नामका धनी थिए । रुदाने (रुप दामन नेपाल), जसरु (जनमुखी सहकर्मी रुपचन्द्र), रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र) र स्वरुपे (स्वयंको रुपचन्द्र) – यी सबै रुपचन्द्र विष्टका फरक नामहरु हुन् । विभिन्न कालखण्डमा उनको नाम फरक फरक ढंगबाट लिइयो । तर सानो छँदा उनको नाम भने केदार विष्ट थियो ।

रुपचन्द्र विष्ट सानै देखि विद्रोही स्वभावका थिए । बुबाको आँखाको तारो नै बनेका रुदाने भने आमाको आँखाको नानी झैं प्रिय थिए । बुबा छोराको स्वभाव, विचार र व्यवहार पनि नमिल्दा दश वर्षको कलिलो उमेरमै आलिशान घर, कुलीन जीवनशैली र बुबाले दिएको ‘केदार’ नाम समेत त्यागेर आफ्नो न्वारन आफै गरी ‘रुपचन्द्र विष्ट’ बनेर घरबाट निक्ले ।

“व्यक्तिगत स्वार्थ भनेका रछ्यान हुन् । रछ्यानमा किटाणु किरा मात्रै रमाउँछन्, मान्छे रमाउँदैन ।” – रुपचन्द्र विष्ट

अत्यन्तै उर्जाशील प्रगतिशील व्यक्तित्वका धनी रुदानेको जीवनमा कयौं आरोह–अबरोहहरु आए । तर उनी समाज परिवर्तनका लागि लड्न कहिल्यै थाकेनन् । यिनै एकल योद्धाको अद्भुत कथा उनीसँग नजिकबाट काम गर्न पाएका रणसंग्राम विष्टले सुनाउँदै हुनुहुन्छ ।

यो कथा रुपचन्द्र विष्टको हो ।

View Details

“मेरो आमाले विदेशी विवाह गरेकै कारण मैले नागरिकता नपाएको हुँ ?” यो प्रश्नले सुरजलाई सँधै घोची रहन्छ । समाजमा नेपाली बुबाले विदेशी महिला विवाह गर्दा तुरुन्त नागरिकता पाएको थुप्रै घटनाहरु देखेका छन् सुरजले । विदेशी महिलाले सिन्दूर लगाएकै भरमा तुरुन्तै नागरिकता पाउने तर नेपाली महिलाको कोखबाट जन्मेको बच्चा चाहिं अनागरिक भएर बस्नु पर्ने यो कानूनी विभेदको शिकार बनेका छन् पोखराका सुरज हजारे दाहाल ।

सुरजका बुबा भारतीय नागरिक हुन् । उनका बुबा भारतबाट नेपाल घुम्न आउने क्रममा उनका आमासँग प्रेम सम्बन्धमा बाँधिन पुग्छन् । समाजको डरले दुबैले भागेर विवाह गर्छन् र नेपालमै बसोबास गर्छन् । सुरजको जन्म हुन्छ । उनी कक्षा ८ मा पढ्दै गर्दा बिद्यालयले सुरजको बुबाको थर सुरजको नाममा झुण्ड्याइ दिन्छन् । पुरानो कानूनका आधारमा यो तरिका ठिक थियो होला । तर उनी कक्षा १२ मा पढ्दै गर्दा कानून पनि फेरिन्छ । अन्तरिम संविधानले बुबा ‘वा’ आमाको नामबाट नागरिकता लिन मिल्ने प्रावधान अगाडि ल्याएपछि भने सुरजले आमाको थर पनि आफ्नो थरसँग जोड्न थाल्छन् ।

सुरजको नाम सुरज हजारेबाट सुरज हजारे दाहाल भए जस्तै नेपालको कानून पनि फेरि सक्यो । कानूनतः बुबा वा आमाको नामबाट नागरिकता दिने प्रावधान हुँदाहुँदै २६ वर्षका सुरजलाई अझै नागरिकता प्रमाणपत्रबाट बञ्चित गरिंदैछ । किन ? यो विभेदसँग लड्दै अगाडि बढिरहेका कयौं सुरजहरुको कथा हो यो । यो कथा सुरज हजारे दाहालको हो ।

View Details

काठमाडौं मरु टोलका भरत माली मात्र ५ वर्षका थिए जुनबेला उनले पहिलो पटक भद्रकाली खड्गसिद्धि जात्राको अवलोकन गर्न पाए । उनका बुबा सो १२ वर्षको अन्तरालमा नचाइने तान्त्रिक नाचका गुरु हुनुहुन्थ्यो ।

“देउताको १ वर्ष भनेको मान्छेको १२ वर्ष हुन्छ रे । त्यै भएर यो जात्रा १२ वर्षको अन्तरालमा नचाइन्छ ।”

लुमरी भद्रकालीको नाच जस्तै काठमाडौं उपत्यकामा पचली भैरवको नाच पनि नचाइन्छ । त्यो पनि हरेक बाह्र–बाह्र वर्षमा । २०४४ सालमा भरत व्यंगिनी भएर नाचे । २०४८ सालमा ब्रम्हायणी, २०५५, २०६० मा बाराही भएर नाचेका उनी २०६८ सालमा यो नाचका गुरु भए । यस लुमरी भद्रकाली खड्गसिद्धि जात्राको नाच यो वर्ष पनि ठाउँ–ठाउँमा नचाईंदैछ । यस वर्ष पनि यस तान्त्रिक नाचका गुरुको भूमिकामा हुनुहुन्छ ।

यसै जात्राको बारेमा संक्षिप्त इतिहास र यसैसँग जोडिएका कथाहरु सुनौं उहाँबाटै ।

View Details

अछामका ईश्वर तिमिल्सिना सानै थिए जुनबेला पश्चिम नेपालमा जनयुद्धको लहर उठ्न थाल्यो । सुन्न मात्र पाउने देख्न नपाउने माओवादीहरुका कुरा जताततै फैलिएको थियो । त्यसै समय उनका दाजु राम प्रसाद तिमिल्सिना हिरासतमा पर्छन् अनि घर भित्रै माओवादी भएको कुरा तब मात्रै बुझ्छन् ।

“मेरा दाजु माओवादी, कम्युनिष्ट र देशभक्त भएको कुरा उहाँलाई पक्राउ गरेपछि मात्रै थाहा पाएँ ।”

पक्राउ पछि विद्यालयमै पनि ईश्वर माथि दुव्र्यवहार सुरु भयो । माओवादीको भाइ, माओवादीको परिवार भनेर हेर्ने दृष्टिकोण फरक फरक लाग्न थालेको महशुस भयो । दाजुको पक्राउ नै ईश्वरको लागि प्रेरणा बन्यो । त्यसपछि उनी ईश्वर तिमिल्सिनाबाट कमरेड रबिन बने ।

१० वर्षे जनयुद्धका क्रममा घटेका कयौं अन्तरंग कथाहरु भेटिन्छन् । यो कथा भने अछामका तिमिल्सिना दाजुभाइको हो जसले देश र जनताका लागि जनयुद्धका फरक फरक मोर्चा सम्हाले । यो कथा दाजुभाइको प्रेम, बिछोड र भेट्ने अभिलाषाले भरिको छ । यो कथा ईश्वर तिमिल्सिनाको हो । र उनका दाजु राम प्रसाद तिमिल्सिनाको पनि ।

View Details

“अधिकार मागेर हैन खोसेर लिनु पर्छ” भन्ने नारा प्रायः सुनिने नारा थियो बिपना मल्लका लागि । अधिकार खोस्नका लागि आफै अग्रसर हुनुपर्छ भन्ने कुरो चाहिं माओवादीमा लागेर मात्रै अनुभव गर्ने मौका पाइन् ।

जनयुद्धका बेला शाही सेना र प्रहरी प्रशासनले सबैलाई माओवादी देख्थ्यो । गाउँका केटाकेटी, स्कूले बिद्यार्थीहरु देखि लिएर हरेक गाउँका जनतालाई उनीहरु माओवादी देख्थे । त्यही अनुरुप दमन पनि गर्थे । बिना कारण सेनाको हातबाट मर्नु भन्दा अधिकार प्राप्तिका लागि गाउँगाउँमा हतियार सहित छिरेका माओवादीहरुसँग लागेर केहि गर्नु ठिक लाग्यो बिपनालाई । गाउँका कयौं युवायुवतीहरु जस्तै उनी पनि सानै उमेरमा माओवादी बनिन् ।

१४ वर्षको उमेर देखि माओवादी आन्दोलनमा होम्मिएकी बिपनालाई सेना समायोजनको नाममा जनमुक्ति सेना विघटन गरेर नेपाल सरकारले आफूहरुलाई धोखा दिएको भन्ने थम्याई छ । तर पनि माओवादी आन्दोलन अझै उदाउने कुरामा उनको आत्मविश्वास बलियो छ ।

यो कथा पूर्व जनमुक्ति सेना बिपना मल्लको हो । साथै कयौं ‘अयोग्य’ लडाकु भनेर सेना समायोजनबाट हटाइएका पूर्व जनमुक्ति सेनाहरुको पनि ।

View Details

आमा बुबा कामको सिलसिलामा काठमाडौं आउने अनि आफ्ना छोराछोरी पढाईका लागि ल्याउनै पर्ने वाध्यता आम गाउँघरको कथा हो । यस्तै कथा थियो सीमा बस्नेतको परिवारको पनि । रौतहटको गाउँबाट २०६८ सालमा काठमाडौं पसेकी सीमालाई यो शहर मन पर्न थाल्यो । सरकारी विद्यालय नै भएपनि यहाँको विद्यालयमा पढाइने तरिका राम्रो लाग्न थाल्यो । विद्यालयका शिक्षकशिक्षिका मन पर्न थाले । यहाँको रहनसहन, सरसुविधा मन पर्न थाले । विस्तारै सीमाको मन यहिं रमाउन थाल्यो ।

२०७१ सालको एस.एल.सी. परिक्षाका लागि सीमा तयार थिइ । फलामे ढोकाको संज्ञा पाएको यस परिक्षाको सामना गर्न थप ट्यूशन कक्षाहरु पनि सुरु गरेकी थिइ । तर एक दिन सीमाको जीवनमा यस्तो अप्रिय घटना आइपर्यो जुन उनले सोचेको पनि थिइन ।

“यति बिहान बिहानै नचिनेको मान्छेले कसरी लोला हान्यो?” भन्ने मनमा लाग्यो । “पछि त पोल्दै पोल्दै आयो ।”

यो कथा निरन्तर अघि बढ्दै गरेको सानी नानी सीमा बस्नेतको हो । उनै सीमा जो काठमाडौंमा घटेको एसिड प्रहार प्रकरणका एक पीडित बने । उनै सीमा जो जीवनमा आइपरेका यस्ता अकल्पनीय घटनालाई पाखा लगाउँदै अघि बढदै छिन् ।

View Details

उहाँ महाकाली देवी चौधरी । उदयपुर जिल्लाको सुन्दरपुर गा.वि.स.मा उहाँको घर छ । घरमा छोरा बुहारी छन् र नातिनातिनाहरु पनि । टोल छिमेकमा पाका उमेर भएकाहरु मध्ये उहाँ सबै भन्दा तगडा हुनुहुन्छ ।

झण्डै ७० वर्षकी उहाँ अझै खेत बारीमा काम गर्न सक्नुहुन्छ । स्मरण शक्ति पनि काइदाकै छ । उहाँको बोली अझै जोशिला छन् । अझै गाउँका विभिन्न विकास परियोजनाहरुमा सक्रिय पनि हुनुहुन्छ । भाषण पनि जोशिलै दिनुहुन्छ भन्ने सुनेका छौं । तर यो पल्ट उहाँबाट नातिनातिनालाई सुनाइने कथा सुन्न मन गर्याैं ।

छोटो भेटघाटमा उहाँले एउटा कथा सुनाउनु भयो । सोहि कथा जुन उहाँका नातिनातिना र गाउँका अरु बालबालिकाले पनि सुनिसके ।

कथा यसरी सुरु हुन्छ । एउटा देशमा गरिब गरिबनी थियो …

View Details

रेणूले आफ्ना बुबा चिन्ने मौका नै पाएनन् । दुई अढाई वर्ष नपुग्दै बुबालाई फाँसी दिइयो । १०४ वर्ष नेपाललाई अन्धकारमा राखेको राणाकालीन युगको अन्त गर्न आफ्नो प्राण आहुती दिने वीर चार शहिदहरु मध्यका एक हुन् रेणूका बुबा – शहिद धर्म भक्त माथेमा ।

नर शम्शेर जंग बहादुर राणाले बुबालाई देश छोडेर भाग्न सुझाएकै थिए । तर सो सल्लाह नकार्दै, “मैले के अपराध गरेको छ देशलाई? म देशको लागि लड्न पनि तयार छु, मर्न पनि तयार छु ।” भनेर बुबाले उत्तर फर्काउनु भयो ।

रेणू श्रेष्ठ माथेमा ८० वर्षको हुनुहुन्छ अहिले । शहिदको छोरी भनेर सम्मान गर्दा असाध्यै खुशी लाग्छ उहाँलाई । हरेक नागरिकलाई शिक्षा दिलाउने बुबाको सपना साकार पार्न ४५ वर्ष शिक्षा क्षेत्रमा काम गरिसक्नु भएको छ । अझै पनि निरन्तर अघि बढि नै रहनुभएको छ ।

यो कथा शहिदको छोरीको हो । यो कथा रेणू श्रेष्ठ माथेमाको हो ।

View Details

सानै उमेरमा हजारौं अरु युवाहरु जस्तै दिपक पण्डित पनि माओवादी आन्दोलनमा होम्मिन्छन् । आन्दोलन चुल्लिँदै गर्दा उनी तत्कालीन शाही नेपाली सेनाको फन्दामा पर्छन् । तत्कालीन ने.क.पा. माओवादीद्वारा सञ्चालित १० वर्षे जनयुद्धका समय मानव वधशालाका रुपमा चिनिएको भैरवनाथ गणबाट जिउँदै निस्कन असम्भव प्रायः नै हुन्थ्यो । तर सिन्धुपाल्चोकका दिपक पण्डित भने अपवाद भएर निस्के ।

‘हाम्रो सत्ता भित्र पुरै हरियो, तिमीहरुको पुरै रातो, बुझिस् माओवादीहरु हो’ भनेर खाना खाइरहेका बेला टाउकामा बुँट बजार्थे ।

यो छोटो बयानमा दिपक माओवादी भएको दिन देखि भैरवनाथ गणमा बिताउनु परेका पीडादायी क्षणसम्मको गाथा छ । अनि गणबाट उन्मुक्त भएर क्रान्ति र पार्टीमा अनवरत रुपमा लागीरहने प्रतिबद्धताका कुरा सम्म पनि ।

यो कथा एक अविचलित माओवादी आन्दोलनमा लागेका युवा क्रान्तिकारीको हो । यो कथा दिपक पण्डितको हो ।

View Details

शारदा झा १४ वर्षको हुनुहुन्थ्यो जब भरत गोपाल झासँग लगनगाँठो कसियो । बिबाह पछि मात्रै उनी आफै र उनका परिवारजनले भरत गोपाल सक्रिय राजनीतिमा लागेको कुरा थाहा पाए ।

“ज्वाइँ त राजनीतिमा लागेको रै’छ, अब के हुने हो? मैले भनेको हैन भक्तपुरमा हाम्रो छोरी नदिने भनेर भन्दै आमालाई बाले बेस्सरी गाली गरे ।”

२०१५ सालमा निर्वाचित भएको सरकारलाई पाखा लगाउँदै राजा महेन्द्रले २०१७ साल पौष १ गते ‘कू’ गरे । जनतालाई राजाले चालेको कूको विरुद्ध जनचेतना फैलाउन हिँडेका भरत प्रशासनको फन्दामा परे । कयैन अरु बन्दीहरु जेल बाहिर निस्के । तर उनले निस्कन मानेनन् । जेल मुक्त हुन उनले निरंकुशतन्त्रका अगाडि लिखित माफी माग्नु पथ्र्यो । तर उनले कुनै पनि हालतमा माफी मागेनन् ।

यो कथा शहिद भरत गोपालको हो । शहिदका पत्नी शारदा झाको एक्लो जिन्दगीको पनि ।

View Details

रुप चन्द्र विष्ट एक कम्युनिष्ट क्रान्तिकारी थिए । ‘थाहा’ आन्दोलनका प्रवर्तक उनी जनमुखी अभियानका अभियन्ता पनि थिए । उनी गरिब, किसान, मजदुर, महिला बालबालिकाहरुका प्यारा नेता थिए । शत्रुले चिनेका तर मित्रहरुले नै नचिनेका एक जनमुखी योद्धाका रुपमा विष्टलाई चिनिन्छ । रुदाने, जसरु, रापसरु र स्वरुपे जस्ता फरक नामले उहाँलाई चिनिन्छ ।

रुप चन्द्र विष्टले लेख्नु भएको घोषणा शीर्षकको जनमुखी समूह गान राष्ट्रिय गानको विकल्पमा गाइन थालियो । पञ्चायतकालको चुलिँदो समयमा ‘श्रीमान् गम्भीर नेपाली’ जस्तो राजा प्रतिको भक्ति गानको सट्टा २०३१ साल वरपर मकवानपुरका १०० जति विद्यालयहरुमा यस गान परेडको तालमा गाइन्थ्यो ।

सो ताका रुप चन्द्रका सहकर्मीका रुपमा खट्ने अकल बहादुर केसी यो गानका बारेमा कथा सुनाउँदै हुनुहुन्छ । यो कथा सोहि जनमुखी समूह गान – घोषणाका बारे हो । यो कथा थाहा आन्दोलनका बारे हो ।

View Details

१० वर्षे जनयुद्धका एक होनहार योद्धा थिए – अजय शाही । तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरेर भैरवनाथ गणमा लगेपछी कहिल्यै फिर्ता आएनन । फिर्ता आउने माओवादीका केहि दर्जन नेता कार्यकर्ताहरु नभएको हैन तर फिर्ता नआउनेमा अजय शाही लगायत हजारौं अरु पनि छन । किन आएनन ? किन खोजिएनन ? अझै फर्किन्छन कि फर्किंदैनन भन्ने आशा र निराशासँग जुध्दै जिउँदै गरेको परिवारको कथा हो यो ।

“मान्छे त मरिरहेकै छ । हाम्रो हजुरबा देखी लिएर सबै मरिसक्यो । एक वर्ष भोज गर्‍यो, सकियो । के भो त ? एक चोटी मर्ने सयौं चोटी बाँच्ने । त्यो भनेको माओवादी पार्टीमा हुन्छ । देशको लागी लड्ने मान्छे हुन्छ ।” दाजुले भनेको यो वचन बिजय शाही अझै सम्झन्छन ।

यो कथा बिजय शाहीको हो । साथै आफ्ना सदस्य गुमाएका हजारौं परिवारजनको पनि ।

View Details

प्रेममा बाचा-बन्धन बाँधिन्छन । जीवनको अनन्तकाल सम्म सँगै रहने बाचा । समाजले अनुमोदन गरे केहि सहज मससुश गर्छ प्रेमले । अनुमोदन नगरे बियोगान्त बनिदिन्छ प्रेम । समाजले मात्रै हैन, आफ्नै घरपरिवारका सदस्यले छि-छी र दुर-दुर गर्ने प्रेम कथाका हिरो हुन लक्ष्मी घलान ।

“छोरी मान्छे भएर अर्काको छोरी छोरी लिएर हिँडेको छ । के हो तँ ?” भनेर बुबाले सोध्नु भो ।

“के देख्नु भो र बुबा अहिले सम्म । थाहा छैन हजुरलाई म कस्तो छु भनेर ?” लक्ष्मीले प्रतिप्रश्न गरिन ।

बुबाले भन्नु’भो, “थाहा थिएन, बल्ल थाहा भो । गाउँलेले तेरो त्यो छोरी हैन छोरा हो भन्थे ।”

बन्द समाजको घेराबाट उन्मुक्त संसारमा लम्केकी एक संघर्षशील चेलीको कथा हो यो ।

यो कथा लक्ष्मी घलानको हो ।

View Details

जीवनको परिभाषा सबैका फरक फरक नै हुन्छन । विषयवस्तु, परीस्थिति, घटना, कालखण्ड मिल्दोजुल्दो भई दिंदा कथा एउटै जस्तो पनि लाग्छ । तर पात्र फरक हुन्छन्, सँधै । अनि पात्रले भोगेको अनुभुती भने उसको, मात्रै उसैको हुन्छ ।

सानी नानी अनुला महर्जनको कथा पनि सबै सानी नानिहरुका कथा जस्तै गरी सुरु हुन्छ । तर ठूली भएर स्वतन्त्र जीवनलाई परिभाषित गर्न खोज्दाको संघर्ष भने एउटा उन्मुक्त चरीको जस्तो ।

‘जीवन मान्छेले सोचे जस्तो कहिले पनि नहुँदो रहेछ । आफूले जे खोज्यो त्यसको ठिक उल्टो भईदिने ।’

यो कथा अनुलाको हो ।

View Details

मच्छिन्द्रनाथका थुप्रै कथाहरु छन । तर वस्ती-वस्तीमा सुनाइने मुलत: दुइ वटा कथा छन । वरिष्ठ सँस्कृतिविद बिपिन्द्र महर्जनका अनुसार एउटा कथा राजा प्रताप मल्लको पालामा बनाइएको पाइन्छ भने अर्को कथा राजा सिद्धी नरसिंहको पालामा बनाइएको पाइन्छ ।

“नेपालीहरु कथाका आधारमा भुली रहेको छ । वस्तविक मुल श्रोत बिर्सेर गइरहेका छौं ।”

यो कथा ३००० वर्ष अगाडिका कृषी विशेषज्ञ ‘बुखाम’ को हो । खोजमूलक अनुसन्धान पछी कथा सुनाउँदै हुनुहुन्छ संस्कृतिविद बिपिन्द्र महर्जन ।

सुन्नुहोस्, “बुखाम” अर्थात “करुणामय” अर्थात “मच्छिन्द्रनाथ” को कथा ।

View Details

बाल्यकालका आरोहलाई जिन्दगीको अबरोहका बारे खासै ज्ञान थिएन । एउटा अबोध बालकले जब समाज जान्न थाल्छ, बुझ्न थाल्छ, पढ्न थाल्छ, र त्यो समाज निर्माणमा अघी बढ्छ , उ जस्तै अनेकौं आरोह जन्मन्छन ।

गाउँका हाम्रै समुदायका मान्छेहरुलाई सोध्थें, “हामिलाई किन यस्तो गर्छन ?”

उहाँहरुको कुरा सुन्थें, “यो हिन्दू वर्णाश्रमले गरेको विभेद हो भन्थे ।”

त्यती बेला मलाई यो हिन्दू वर्णाश्रम भन्ने कुरो पनि थाहा थिएन ।

तल्लो जातमा जन्मेको आरोहले यो समाजले निर्माण गरेको बन्धन तोड्न कसरी आफु लाई उभ्याउँछ, यसको जिवन्त गाथा हो यो ।

यो कथा आरोह नेपाली को हो ।

View Details

उनी सखिना मुस्लिम ।

सानै छँदा दिदिले घर छोडेर माओवादी सेनामा भर्ती भएको घटनाले सखिनालाई ‘कमरेड रबिना’ बन्न हौशला मिल्यो ।

अहिले उनि नेपाल कम्युनिष्ट पार्टी माओवादिको साँस्कृतिक फाँट, सामना परिवारमा काम गर्छिन । नच्छिन, गाउँछिन, अभिनय गर्छिन । अहिले पार्टी भित्र सबैले रबिना भनेर चिन्छन ।

१० वर्षको जनयुद्ध पछी रबिनाको दिदिले भने पुरानै सामाजिक ब्यबस्था अङ्गाले । तर रबिनाले भने दिदीबाटै सिकेका क्रान्तीको दिशा नछोड्ने अठोट लिएकी छिन । अन्तिममा दिदिले पार्टी प्रतिको विश्वाश छोड्दा र उनले दिदिलाई छोड्नु पर्दाको क्षण अझै याद गर्छिन, भन्छिन्, “क्रान्ती त एक्लैले गर्ने हो भन्ने ममा मानसिकता आयो ।”

यो हो कमरेड रबिनाको कथा ।

View Details

दोलखाको एउटा गाउँमा हिन्दू सँस्कारमा जन्मिन बिन्दा श्रेष्ठ । कामको सिलसिलामा हाल काठमाडौंमा बस्छिन पती र छोरा सँग । उ बेला गाउँमा साथिहरु सँग पुजा आराधनामा धेरै मन लगाउँथिन । तीज मा ब्रता बस्ने र नाच्ने गरेका दिन पनि प्रष्टै याद छ उनलाई ।

तर आज भोली मन फेरिएको छ । विश्वास फेरिएको छ ।

“हिन्दूमा अलि आस्था बढी भएको थियो त्यती बेला ।”

सुन्नुहोस्, बिन्दा श्रेष्ठको यो कथा ।

View Details

सुशिला लाई अझै त्यो दिन सम्झ्ँदा डर लाग्छ । त्यो घटना घटेको ठाउँ नजिक पुग्दा अझै सामाना गर्न सकिदिनन उनि । कहिल्यै अस्पताल पुग्न नपरेकी सुशिलाले ६ महिना अस्पताल मै बिताउनु पर्‍यो र अर्को ६ महिना घरमा ।

अझै पनि त्यो दिनमा के भयो ? किन भयो ? कसले गर्‍यो ? भन्ने कुरो सुशिलालाई थाहा छैन ।

यो कथा सुशिला महर्जनको हो ।

View Details

जब निर्गुण जन्मिए, कसैलाई पनि यो बच्चा बाँच्ला भन्ने आशै थिएन । न डाक्टर न अरु परिवारजनलाई नै । १२ वर्षको उमेर सम्म पनि छोरा पटक-पटक मृत्युसँग जुध्दै थिए । र हरेक पटक आमा मैंया स्थापित सँगै थिए ।

नारायण दासका नाति, कृष्ण दास स्थापितका छोरा भनेर टोल भरी निर्गुणलाई चिन्थे । त्यो भन्दा बढी उसको सहयोगी स्वभावले गर्दा चिन्थे । आज भोली निर्गुणलाई बिर्सिसकेको छ समाजले । सम्झाउने एउटा चिन्ह उसैको अर्धकदको सालिक हुन सक्छ जुन यट्खा को चौबाटोमा ठड्याइएको छ । अर्को चिन्ह सोही चौबाटोबाट पश्चिम जाने बाटोका घर-घरमा लगाइएका घर नम्बर प्लेट हुन सक्छन । “शहिद निर्गुण मार्ग” भनेर सो बाटोको नामांकन गर्नु बाहेक राज्यले प्रजातन्त्र ल्याउन आफ्नो प्राण आहुती दिने निर्गुण स्थापितहरुलाई बिर्सिसकेका छन ।

यो कथा निर्गुण स्थापितको हो ।

साथै २०४७ मा प्रजातन्त्र पुन:स्थापना गर्न आन्दोलनमा होम्मिएका कयौं सपुतहरुको पनि ।